तपाईँ सुन्दै हुनुहुन्छः

चौधरी र छन्त्यालद्वारा भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान कायम

काठमाडौँ । बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औँ पुरुष तथा ९ औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् ।

१३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

उनले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकीमा दोस्रोमा ७५ केजी तौल भार बहन गर्दै कीर्तिमानमा सुधार गरेकी थिइन् । पुनः तेस्रो प्रयासमा ७८ केजीका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यस्तै क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार बहन गरेकी उनले दोस्रो प्रयासमा ९८ केजी भार बहन गर्न असमर्थ भइन् । तर तेस्रो प्रयासमा ९८ केजी तौललाई सहजताका साथ बहन गर्दै कुलमा १७६ केजी भारका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमानमा आफ्नो नाम लेखाइन् । उनले स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् ।

यस अघि यस तौल समूहको कीर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको कीर्तिमान तेस्रो सुनिल लाल स्मृति भारोत्तोलन प्रतियोगितामा राखेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button