तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी

जनकपुरधाम ।  प्रदेश २ सरकारको मन्त्रिपरिषद्बाट सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यालय मुजेलियामा स्थापना गरिएको छ । केन्द्रले प्रदेशका जनप्रतिनिधिदेखि यहाँका कर्मचारीहरूको क्षमता विकासका लागि  प्रशिक्षण दिनेछ । खास गरेर प्रदेश लोकसेवा आयोगबाट नियुक्त भएका कर्मचारीहरूलाई प्रशिक्षण दिनका लागि केन्द्र प्रदेश सरकारले स्थापना गरेको छ । 

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा रहने छ । 

सर्लाही जिल्ला निवासी सतार अन्सारी संयुक्त राष्ट्रसङ्घको विभिन्न निकायमा  काम गरेको अनुभव रहेको छ । 
विगतमा सङ्घ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश २ को पहलबाट प्रदेशको मातहतमा आएकोमा अन्य प्रदेशहरूमा भएको ग्रामीण प्रशिक्षण केन्द्रहरू पनि सम्बन्धित प्रदेशमा गएको छ । 

विगतको पन्चायत् कालमा स्थापना भएको पञ्चायत प्रशिक्षण केन्द्रको रुपमा सञ्चालित यो कार्यालय केन्द्र सरकारको मातहतमा हुँदा खासै गतिविधि गर्न सकेको थिएन । यसको भौतिक संरचनाहरूको अधिकतम प्रयोग गरेर प्रदेशको मानव संसाधनको विकासमा केन्द्रले अहम् भूमिका खेल्ने विश्वास प्रदेश सरकारको रहेको छ । 

कार्यकारी निर्देशक पदको लागि १२ जनाले आवेदन दिएकोमा सर्ट लिष्टमा ३ जना छनौट भएको मध्ये अन्सारीको नाममा मुख्यमन्त्री लालबाबु राउतले सहमति जनाउनुभएको थियो । 

अन्तिम तीन जनामा सप्तरीका रोहित कुमार यादव र रौतहटका गौरीशङ्कर साह र सर्लाहीका सतार अन्सारी रहेकोमा योग्यता तथा क्षमता एवं अनुभवको दृष्टिकोणले अन्सारी बलियो रहेकाले उहाँको नाम नियुक्तका गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button