मन्त्री आलेद्वारा मझगाउँ विमानस्थलमा बन्ने संरचनाहरूको शिलान्यास

कञ्चनपुर । दुई दशक अघि देखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक भौतिक संरचनाहरू निर्माणको शिलान्यास गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले मझगाउँ विमानस्थलमा बन्ने संरचनाहरूको बुधवार शिलान्यास गर्नु भएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले मझगाँउ विमानस्थलमा छिट्टै विमान सञ्चालन हुने बताउनुभयो । मझगाउँ विमानस्थलमा १ हजार ५ सय २५ मिटरको रनवेलाई बढाएर २ हजार ५ सय मिटर पुगाउने समेत उहाँले उद्घोष गर्नुभयो ।
२०३० सालदेखि २०५६ सालसम्म नियमित सञ्चालन भएको विमानस्थल त्यसयता बन्द अवस्थामा रहेको छ । उक्त विमानस्थल पुनः सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माण गर्न २ करोड ५१ लाख बजेट विनियोजन गरी ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ । विमानस्थल पुनः निर्माणका लागि नेपाल सरकारको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्