ताप्लेजुङमा २५ भन्दा बढी भेला हुन नपाइने, माघ ७ देखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य
ताप्लेजुङ । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिका कार्यक्रमहरूमा रोक लगाएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सार्वजनिक सूचना जारी गर्दै २५ जनाभन्दा बढी भेला हुने तथा मेला, तथा महोत्सव आयोजना गर्न रोक लगाएको हो । जारी सूचनामा अत्यावश्यक नियमित कार्यक्रम सञ्चालन गर्नु पर्ने भएमा प्रशासनसँग अनुमति लिएर मात्र गर्नु सूचनामा उल्लेख गरिएको छ ।
प्रशासनले माघ ७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको जनाएको छ । सार्वजनिक स्थलहरूमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड आफ्नो साथमा अनिवार्य राख्न पनि प्रशासनले आग्रह गरेको छ । उल्लेखित निकायहरूले पनि खोप कार्ड भएका मानिसहरूलाई मात्र प्रवेश अनुमति दिनुपर्ने प्रशासनले भनेको छ । जिल्लाका खोपलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तोक्मेडाँडाको शनिवारे हटिया,जिल्ला अस्पताल लगायतका स्थान खोप लगाउने क्षेत्र तोकिएको छ ।
अब जिल्ला प्रवेश गर्ने कावेली लगायतका विभिन्न नाकामा कडाइ गर्ने पनि अधिकारी पाण्डेले बताउनुभयो । प्रशासन कार्यालयले १२ वर्ष भन्दा माथिका नागरिकले अनिवार्य रुपमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी कोरोना विरुद्धको खोप अनिवार्य लगाउनसमेत प्रशासन कार्यालयले सबैलाई सूचित गरेको छ । जिल्ला हालसम्म कोरोना शून्य रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्