रेडियो पत्रकारितामा निरौला र शेर्पाको विश्व कीर्तिमान कायम

सोलुखुम्बु । नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तरवार्ताको विधाबाट सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्व कीर्तिमान बनाउनु भएको छ ।
पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर यसअघि अष्ट्रेलियामा भएको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गर्नुभएको हो ।
‘पर्यटन र जनवायु परिवर्तनका असर’ विषयमा विश्वकै लामो रेडियो अन्तरवार्ता गएको कात्तिक २२ गते सोमबार बिहान ७ः३५ बजे सुरु भई कात्तिक २३ गते मङ्गलवार बिहान ९ः०१ बजेसम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाडौँमा आयोजना गरिएको थियो ।
निरौला हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुनुहुन्छ भने पर्यटनविद् शेर्पा एफएम सञ्चालक समितिका उपाध्यक्ष हुनुहुन्छ । निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले सोमबार मान्यता दिएको छ ।

आधिकारिक मान्यता पाएपछि कीर्तिमानी पत्रकार निरौलाले यो कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्त्व राख्ने भन्दै देशकै लागि एउटा कीर्तिमान थप्न सकेकोमा गौरव महसुस भएको बताउनुभयो । आफ्नो पेसाको क्षेत्रबाट देशको नाम राख्न पाउँदा खुशी लागेको उहाँको भनाइ छ ।
पर्यटनविद् आङफिन्जो शेर्पाले आफ्नो कोसिसले सार्थकता पाएकोमा खुसी व्यक्त गर्नुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत महत्त्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा ‘पर्यटन र जलवायु परिवर्तनको असर’ विषयमा विश्वकै लामो अन्तरवार्तामार्फत पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिवर्तनको न्यूनीकरणमा विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले उक्त अन्तरवार्ताको आयोजना गरिएको उहाँको भनाइ छ ।
यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अष्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेल विज्ञ पिटर फिट्ज्मिन्स्सँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड थियो ।
सोलुखुम्बुका पत्रकार निरौलासँग पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह पूरा गरी रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरेको अनुभव छ भने पर्यटनविद् शेर्पाले पर्यटन र वातावरण संरक्षण विषयमा सामाजिक क्षेत्रमा लामो समयको कार्य अनुभव रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्