तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।

टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै समूह ‘ए’ अन्तर्गत विजयी सुरुआत गरेको हो ।

१ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १४ दशमलव ४ ओभरमा अलआउट हुँदै मात्र ५३ रन जोड्न सक्यो ।

कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ तथा कप्तान रवीन्द्र शाहीले १५ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट हात पारे । सुशान भारी र शहाब आलमले दुई–दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक–एक विकेट हात पारे ।

यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन जोड्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे । हरि चौहानले २० रन जोड्दा रोहित पौडेल र कुशल मल्ल समान १० रनमा आउट भए । सोमपाल कामी ९ रनमा आउट हुँदा जितेन्द्र मुखिया ८ रनमा अविजित रहे ।

कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए । अनुज चुनराले २ तथा दिनेश अधिकारी, रवीन्द्र शाही र राज शाहले १/१ विकेट लिए ।

जितपछि आर्मीले पहिलो खेलमा २ अङ्क जोडेको छ । आर्मी समूहको शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् । समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button