तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो

चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । 

कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । 

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । 

जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो ।

पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो । यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार सङ्क्रमण देखिनेमा भरतपुर महानगरपालिकाका– २९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३/३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण देखिएको हो । 

जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ११९ जना रहेको छ । जसमध्ये सात जना होम आइसोलेसनमा र ११२ जना होम आइसोलेसनमा रहेका छन् । 

यस अघिका दिनमा सङ्क्रमितको सङ्ख्या कम थियो । पुस २४ गते एक जनामा सङ्क्रमण देखिएको थियो । २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा सङ्क्रमण देखिएको थियो । एकाएक यो सङ्ख्या बढेको हो । 

चालू आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा साउन ७ गते २५५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । साउनको महिना दैनिक २०० हाराहारीमा कोरोना सङ्क्रमण देखिएकोमा भदौमा यो सङ्ख्या घटेर एक सयको हाराहारीमा आएको थियो । 

यस्तै असोज/कात्तिकमा ५० को हाराहारीमा रहेको कोरोना सङ्क्रमण मङ्सिरमा २० देखि ३० जनामा देखिन थालेको थियो । 
यसरी घट्दै गएको सङ्क्रमणको अनुपात अहिले आएर फेरि बढ्न थालेको ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक सातापछि कोरोना सङ्क्रमण दर उच्च बन्ने खतरा छ ।” सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न कार्यालयले आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button