तपाईँ सुन्दै हुनुहुन्छः

जनताको साथ र सहयोगले अडानमा कायम छु : सभामुख सापकोटा

सिन्धुपाल्चोक । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताउनुभएको छ ।

गृह जिल्ला सिन्धुपाल्चोकको दुई दिने बसाइका क्रममा आइतबार लिसंखुपाखर गाउँपालिका वडा नं ३ स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३ औँ जन्मोत्सव तथा भूतपूर्व विद्यार्थी मिलन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभामुख सापकोटाले जनताको साथ र सहयोगमा आफैँले कल्पना नगरेको अडान लिइरहेको बताउनुभयो ।

शनिबार बेलुका जिल्लाको ठूलो पाखरमा स्थानीयको घरमा बसेर कार्यक्रम स्थल पुग्नु भएका सभामुख सापकोटाले भन्नुभयो ‘यो देशमा सबै असल हुँ भन्ठान्छन्, सबैले राम्रो काम गर्छु भन्ठान्छन्, राम्रो काम गर्छु भनेर इच्छा गरेर मात्रै हुँदैन, त्यसका लागि असाधारण खालको दृढता चाहिन्छ, फाँसीमा लड्किन तयार पनि हुन सक्नुपर्छ र सबै कुरा त्याग्नुपर्छ । आफन्तहरूका घेरा पनि तोड्नु पर्छ । यी सबै घेरा तोड्नका लागि म दृढतापूर्वक खडा हुने छु । मलाई एउटै कुराको खाँचो छ, तपाइहरूको साथ र सहयोग पाएर मैले आफैँले कल्पना नगरेको अडान लिइरहेको छु ।’   

उहाँले भन्नुभयो ‘मलाई नेपाली जनताको साथ प्राप्त छ, म नेपाली जनताप्रति ऋणी छु, नेपाली जनताप्रति म श्रद्धाले शिर झुकाउँछु ।’ उहाँले भन्नुभयो ‘म तपाइहरूको अगाडि उभिएर प्रतिज्ञा गर्छु कि जिन्दगीको अन्तिम घडीसम्म म जहाँ रहन्छु, जुन पदमा रहु वा नरहुँ, नेपाली जनताका लागि लडिरहने छु, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्ने छैन, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने अग्नि सापकोटाले यस्तो गर्‍यो भनेर शिर निहुर्याउनु पर्ने छैन । भ्रम फिँजाउन सक्नेछन्, तर तपाईँहरू भ्रमित नहुनुहोला, भयानक भ्रमबाट महान् सत्यको जन्म हुन्छ, मलाई त्यो कुरा धेरै राम्रोसित थाहा छ । ’

सभामुख सापकोटाले २०६२ साल चैत्र १४ गते जिल्लाकै ठोकर्पामा हात, पेट र तिघ्रामा एकैचोटी एम १६ का तीन गोली लागेर पनि आफू बाँचेको स्मरण गर्दै उहाँले भन्नुभयो ‘म बाँचेको छु, किन बाँचेको छु ? किन भने जनताका लागि बाँचेको छु, देशका लागि बाँचेको छु ।’ आवश्यक पर्दा सबैसँग कठोर भन्दा कठोर सङ्घर्ष गर्दै आएको बताउँदै उहाँले आफ्नो मूल्य, मान्यता, आदर्श, देशभक्ति र सदाचारमा कुनै सम्झौता नगर्ने दोहोर्‍याउनु भयो । भारतका देशभक्त सहिद भगतसिंहको स्मरण गर्दै उहाँले आफू जिन्दगीको अन्तिम घडीसम्म उभिइरहन चाहेको बताउनुभयो ।  सभामुख सापकोटाले भन्नुभयो ‘हेरौँ म आफूलाई कति तयार पार्न सक्छु ।’

आफू २०७६ साल माघ १३ गते सभामुख भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा बढी ध्यान दिनु परेकोले जनतासँगको भेट पातलो भएको जानकारी दिँदै उहाँले  भन्नुभयो ‘आज जे छु तपाईँहरूले गर्दा छु । मुख्य त म तपाइहरूले भोट दिएर सभामुख भएको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख बनाउने निर्णय गरेको थियो, तर मलाई सभामुख बनाउने कुराको सुरुवात सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ का मतदाताले गर्नु भएको हो । त्यही भएर मैले यो राष्ट्रको सेवा गर्न पाएँ । सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।’ अरू देशमा एउटा सांसद सभामुख भएपछि सो स्थानमा अर्को प्रतिनिधि तोकिने व्यवस्था रहेको बताउँदै उहाँले नेपालमा त्यो व्यवस्था नभएका कारण जनतासँगको भेट पातलो भएको बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले देशमा इमान र निष्ठामा ह्रास आएको बताउँदै नेपाल एउटा महान् बहसको प्रक्रियाबाट गुज्रिरहेको धारणा राख्नु भयो । सभामुख सापकोटाले भन्नु भयो ‘चाहे रामशाहपथमा तपाई हेर्नुस्, चाहे तपाई बानेश्वरमा हेर्नुस्, चाहे राष्ट्रिय जीवनका हरेक क्षेत्रहरूमा हेर्नुस् अहिले एउटा विकृति र विसङ्गति छ ।’ सभामुख सापकोटाले यती हुँदा हुँदै पनि देशले बिस्तारै लय लिइरहेको बताउनुभयो । ‘बिस्तारै देश सम्हालिँदै छ, यो सम्हाल्नका लागि हामी कोसिस गरिरहेका छौँ’ उहाँले भन्नुभयो । आफ्नो कार्यकालमा एकै वर्षमा दुई दुई पटक प्रतिनिधि सभा विघटन भएर पुनर्स्थापित भएको स्मरण गर्दै उहाँले फेरि पनि एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button