बालुवा निकाल्न दिन मजदूरको माग
पर्वत । पर्वतको मालढुंगाका मजदुरहरूले कालीगण्डकीबाट बालुवा निकाल्न पाउनुपर्ने माग गरेका छन् । नदीजन्य पदार्थ उत्खननमा प्रशासनले रोक लगाएपछि उनीहरू आन्दोलित छन् । मजदुरहरूले कुश्मा नगरपालिका र जिल्ला प्रशासन कार्यालय सँग नदीजन्य पदार्थ उत्खनन गर्न दिन माग गरेका छन् । सङ्घर्ष समिति बनाएर आन्दोलनरत मजदुरले जिल्ला प्रशासन कार्यालय र कुश्मा नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।
सर्वोच्च अदालतले केही समयअघि नदीजन्य बस्तुहरू एक्स्काभेटर लगाएर दोहन गर्न नपाउने गरी अन्तरिम आदेश दिएको थियो । उक्त आदेशकै कारण प्रशासन र नगरपालिकाले खनीखोस्री गरेका मजदुरलाई पनि अवरोध गरेको मजदुरहरूको गुनासो छ । मजदुरलाई बेरोजगार बनाएर काम गर्न नदिएको भन्दै कि अर्को काम चाहियो, कि भने बालुवा झिक्न पाउनुप¥यो भन्दै उनीहरूले नगरपालिकामा ज्ञापन बुझाएका हुन् । उनीहरूले आफ्नो जीवनको सुरक्षा समेत गरिदिन आग्रह गरे । नदीमा एक्स्काभेटर लगाएर बालुवा झिक्दा नदीको बहावै फेरिएको भन्दै विवाद आउने गरेको थियो । ठेकेदारले नदी दोहन गरेको विषयमा अदालतमा मुद्दासमेत परेको थियो ।
तर यसअघिका उच्च अदालतका आदेश पालना भएका थिएनन् । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले उक्त आदेश दिएको थियो । आदेशपछि प्रशासनले पनि काम नगर्न भन्दै रोक लगाएको हो । पर्वत प्रशासनले रोक लगाएपछि पर्वत र बागलुङतर्फ समेत उत्खनन रोक भएको छ । मजदुरले भने रोक लगाएकै भए पनि डोजरलाई हुनुपर्ने भन्दै खनीखोस्री गरेर घर तथा अन्य निर्माणका लागि सामाग्री तयार गर्ने काममा रोक लगाउँदा मजदुरको दैनिकी मात्र नभई घर बनाउन चाहनेका लागि पनि समस्या भएको बताउनुभयो ।
बालुवाको भरमा परिवार पाल्दै आउनुभएका कमला थापाले आफ्नो रोजीरोटी खोसिएको गुनासो गर्नुभएको छ । उहाँले नदीको बालुवामा आश्रित परिवार भोक भोकै भएको सुनाउनुभयो । मालढुंगाका अप्सरा विक र दानमती माझीले पनि बालुवा झिकेर बिहान बेलुकाको छाक टार्दै आउनुभएको छ । स्थानीय सरकार र जिल्ला प्रशासनले मजदूरलाई कि बालुवा निकाल्न दिनुपर्ने कि वैकल्पिक रोजगारी दिनुपर्ने माग गरिएको माझी र विकले बताउनुभयो । कालीगण्डकी नदीमा आश्रित मजदुरहरू निरन्तर रुपमा आफ्ना माग लिएर सरकारी कार्यालयमा धाइरहे पनि समस्या समाधान भएको छैन ।








प्रतिक्रिया राख्नुहोस्