‘गौतम बुद्ध विमानस्थल सञ्चालन मन्त्रालयको मुख्य प्राथमिकता’
रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गौतम बुद्ध विमानस्थल सञ्चालन मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

शनिबार विमानस्थल निरीक्षण गर्दै मन्त्रीले आलेले भारतसँग हवाई रुट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको बताउँदै जतिसक्दो विमानस्थल चाँडो सञ्चालनमा ल्याउने बताउनुभयो ।
केही समय अघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई रुट अनुमति दिन आग्रह गरेको उहाँले बताउनुभयो । मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण क्यालीब्रेसन फ्लाइटमा ढिलाइ भएको जनाउनुभयो । उहाँले मौसम सफा भएको हप्ता दिनमै क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी गरिएको जनाउनुभयो ।
उहाँले आयोजनाको ढिलाइका कारण यसअघि हुने भनिएको क्यालिब्रेसन फ्लाइट नभएको आरोप लगाउनुभयो । मन्त्री आलेले अब ढिलाइ नगर्न आयोजना र ठेकेदारलाई निर्देशन दिनुभयो ।
विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले आईसीबी वान अर्थात् भौतिक निर्माणका काम थोरै बाँकी रहे पनि आईसीबी टु अन्तर्गतका उपकरण जडानको काम सकिएको बताउनुभयो । उहाँले क्यालिब्रेसन फ्लाइटका लागि विमानस्थल तयार भएको बताउनुभयो ।
आयोजनाको अहिलेसम्म करिब ९९ प्रतिशत काम सम्पन्न भएको छ । केही निर्माण र फिनिसिङका काम बाँकी छन् ।
मन्त्री आलेले आजै लुम्बिनी गुरुयोजनाका बारे जानकारी समेत लिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्