प्रस्ताव आए सहकार्य हुनसक्छ : जोशी

तनहुँ । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरू तयार रहेको बताउनुभएको छ ।
“चित्तबुझ्दो तरिकाले प्रस्ताव आए काँग्रेससँग पनि सम्झौता हुनसक्छ”, आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “काँग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।” कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव नआए आआफ्नो तरिकाले चुनाव लड्न सकिने नेता जोशीले बताउनुभयो ।
तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये चालिस वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको उत्साह आफूप्रति मिलेको उल्लेख गर्दै उहाँले त्यस क्षेत्रका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आई दिन आकाङ्क्षा जाहेर गरेको बताउनुभयो । माघ मसान्तसम्म पालिकास्तरीय भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।
काँग्रेसको सङ्गठन बिस्तारमा आफ्नो धेरै लगानी भएको र विसं २०१७ मा नेकां तनहुँको आफूले नै स्थापना गरेको उहाँको भनाइ थियो । रासस








प्रतिक्रिया राख्नुहोस्