कसुरदार ठहर भएपछि बेपत्ता श्रेष्ठ पक्राउ

काठमाडौँ । अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २६ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज बानेश्वरबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालतको विसं २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु २६ लाख जरिवाना ठहर गरेपछि निज फरार भएको जानकारी दिनुभयो । पक्राउ परेका श्रेष्ठले आफ्नो सिभिल बैङ्क लिमिटेड भक्तपुर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै पनि झुक्यानमा पारेर चेक दिई बैङ्किङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले श्रेष्ठलाई बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्