कोरोनाको त्रास : काँकडभिट्टा ‘हेल्थ हेल्प डेस्क’ सञ्चालनमा

भद्रपुर, झापा । नेपालको पूर्वी द्वार काँकडभिट्टामा रहेको ‘हेल्थ हेल्प डेस्क’ सञ्चालनमा आएको छ ।
भारतमा नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित बढ्न थालेको र नेपालमा पनि कोरोनाको तेस्रो लहर आउन सक्ने बताइरहेका बेला कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यका साथ निर्माण गरिएका हेल्थ हेल्प डेस्क बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।
सीमा नाकामा रहेको हेल्प डेस्कको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
कोभिड–१९ को पहिलो, दोस्रो हुँदै ‘ओमिक्रोन’ समेतको संक्रमण सीमावर्ती बजारमा देखिएकाले र यो संवेदनशील समय र विशेष नाका भएका कारणले पनि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था गरेर हेल्थ हेल्प डेस्क सञ्चालनमा ल्याइएको नगरप्रमुख आचार्यले बताउनुभयो ।
डेस्कमा बेडको पनि व्यवस्था रहेकाले अन्य खालका बिरामीहरूले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्नेछन् ।
नगरपालिकाले यहीँबाट कोरोना विरुद्धको खोपसमेत उपलब्ध गराउने छ । मेचीनगर नगरपालिकाको पहलमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करिब ५० लाख रुपैयाँको लागतमा हेल्थ हेल्प डेस्कको कार्यालय निर्माण गरिएको उपप्रमुख मीना उप्रेतीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्