तपाईँ सुन्दै हुनुहुन्छः

सबै प्रतिष्ठान र श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आग्रह गर्नुभएको छ । 

संयुक्त ट्रेड  युनियन समन्वय केन्द्रको पाँचौँ श्रम  संसद्लाई काठमाडौँमा सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सरकारले सामाजिक सुरक्षाको छाताभित्र अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई समेट्ने योजना अघि बढाएको बताउनुभयो ।

“अब सबै प्रतिष्ठान र श्रमिकहरू सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आवश्यक छ”,  मन्त्री श्रेष्ठले भन्नुभयो, “यसमा सबै श्रमिक र रोजगारदाताहरूको सहयोग र अग्रसरताको अपेक्षा सरकारले गरेको छ ।”

उहाँले अहिले श्रम कानुन कार्यान्वयन गर्दा आफूलाई फाइदा हुने विषयमा लाभ लिइहाल्ने तर पूरा गर्नुपर्ने  दायित्वबाट पन्छिने प्रवृत्ति पनि देखिन थालेको बताउनुभयो । 

श्रम ऐनको लचकताबाट लाभ लिने अर्थात् रोजगारीबाट हटाउने विषय लागु गर्ने तर सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने विषयमा आनाकानी गर्ने प्रवृत्ति अस्वीकार्य रहेको उहाँको भनाइ छ । उहाँले सरकारले आन्तरिक रोजगारी सिर्जना गर्ने र बाध्यकारी वैदेशिक रोजगारीलाई हटाउने गरी अघि बढेको बताउनुभयो । 

श्रम प्रशासनलाई प्रभावकारी बनाउने, श्रम अडिट, कारखाना निरीक्षण, सेवा प्रवाहमा सरलता ल्याउने कुरामा पनि प्रभावकारी रुपमा काम अघि बढाएको भन्दै उहाँले श्रम तथा रोजगार कार्यालयलाई स्रोत साधनको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । 

वैदेशिक रोजगारीलाई सरल, सहज बनाउने र विकृतिको अन्त्य गर्न सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउन लागिपरेको उहाँले बताउनुभयो । 

मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउने दिशातर्फ  काम अघि बढिसकेको बताउनुभयो । 

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र सम्वद्ध ट्रेड  युनियनका पदाधिकारीहरूले श्रमिकहरूको समस्याबारे बोल्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button