स्वरोजगार उन्मुख बर्दिबास महोत्सव आयोजना हुने
बर्दिबास । प्रदेश २ मा पहिलो पल्ट युवा स्वरोजगार उन्मुख बर्दिबास महोत्सव आयोजना हुने भएको छ ।
कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा भव्य रुपमा युवा स्वरोजगार उन्मुख बर्दिबास महोत्सव आयोजना हुने भएको छ ।
नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा विशेष गरी युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यसहित माघ १३ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना हुनेछ ।

महोत्सवमा युवाहरूलाई कम लगानीमा उद्योगपति बनाउने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगीहरूलाई महोत्सवमा निम्त्याउने आयोजकले जनाएको छ ।
थोरै लगानीमा पनि सफल उद्योगी बन्न सक्ने जानकारीको अभावमा युवाहरू पलायन भइरहेको बताउनुहुँदै चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधीर अग्रवालले विदेश पलायनलाई समेत महोत्सवले रोक्ने बताउनुभयो ।
पानी पुरी बनाउने अटोम्याटिक मेशिनदेखि ठुल्ठुला उद्योगहरूको अवधारणा महोत्सवमा प्रवेश गर्ने जोकोहीले महसुस गर्न पाउने आयोजकले जनाएको छ ।
महोत्सवलाई कृषि, पर्यटन प्रवर्द्धन, उद्योग स्थापना र युवा स्वरोजगार कार्यक्रमसँग जोडिने महोत्तरी चेम्बरले जनाएको छ । बर्दिबासमा टिसर्ट–ट्र्याक सुट, जुत्ता–चप्पल, ढोका–झ्याल, आइसक्रिम र मैनबत्ती–अगरबत्ती बनाइने सहितका कारखाना सञ्चालित छन् । महोत्सवका सहभागीलाई यी कारखाना अवलोकन गराइने चेम्बरका सचिव सुदर्शन काफ्ले बताउनुभयो ।
महोत्सवमा बाल उद्यान, मनोरञ्जनात्मक कार्यक्रम र ख्यातिप्राप्त कलाकारहरू बोलाएर अवलोकनकर्ताहरूले फरक संवाद समेत लिन सक्ने आयोजक पक्षले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्