ठगी गरेको आरोपमा एक जना पक्राउ
जनकपुरधाम । नेपाल रेल्वे कम्पनीको नियुक्ति पत्र दिएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधामबाट एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौलीका ३२ वर्षीय सागर कान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

आफूलाई लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै ठगी गरिरहेका चौधरीलाई आइतबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटेल अगाडीबाट पक्राउ गरिएको बस्नेतले बताउनुभयो ।
उनको शरीरको खान तलासी गर्दा ज्याकेटको भित्र पट्टिको गोजीमा लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ति पेपर, शपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैङ्क लिमिटेडको राजेश कापरको नामको दस्तखत भएको खाली चेकका साथै पर्सा जिल्ला अदालत वीरगन्ज लेखिएको रबर स्टाम्प छाप बरामद गरिएको प्रहरीले जनाएको छ ।
चौधरीमाथि धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शीर्षकमा ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्