तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य निर्वाचन: बागमतीमा ६ जनाको मनोनयन दर्ता

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बागमती प्रदेशतर्फको रिक्त दुई सिटमा आगामी माघ १२ गते हुने निर्वाचनका लागि मङ्गलवार ६ जनाले मनोनयन दर्ता गराउनुभएको हो । 

मनोनयन दर्ताको कार्यसूची अनुसार मङ्गलवार हेटौँडा–५ स्थित बागमती  प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्तारुढ गठबन्धन दलका दुई जना, नेकपा एमालेका तर्फबाट दुई जना र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई जना गरी ६ जनाले मनोनयन दर्ता गराउनुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिनुभयो । 

राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा काँग्रेसबाट कृष्णप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी तिमल्सिनाको प्रस्तावकमा मुनु सिग्देल र समर्थकमा सीता अधिकारी हुनुहुन्छ भने पौडेलको प्रस्तावकमा इन्द्रबहादुर बनियाँ हुनुहुन्छ र समर्थकमा राजन प्रसाद ढकाल हुनुहुन्छ । 

त्यसैगरी नेकपा एमालेबाट महिलामा निरकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका नीरकुमारीको प्रस्तावकमा पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलाखे तथा शाक्यको प्रस्तावकमा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ र समर्थकमा विजय सुवेदी हुनुहुन्छ । 

त्यस्तै नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्ण बहादुर तामाङले मनोनयन दर्ता गराउनुभएको छ । नेमकिपाबाट काफ्लेको प्रस्तावकमा सुनिल प्रजापति र समर्थकमा राजनी जोशी हुनुहुन्छ । भने तामाङको प्रस्तावकमा सूर्यराज गोसाईं र समर्थकमा सृजना सायजु हुनुहुन्छ ।

निर्वाचन कार्यालयका अनुसार भोलि २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ । यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने जनाएको छ । 

आगामी माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म हेटौँडा–८ मा स्थित औद्योगिक क्षेत्रको चौरमा मतदान हुने पोखरेलले जानकारी दिनुभयो । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button