तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा पाँच महिनामा २१८ को मृत्यु, सबैभन्दा बढी मृत्यु आत्महत्याबाट

चितवन ।  चितवनमा चालु आर्थिक बर्ष ०७८/७९ को मङ्सिर महिनासम्ममा सवारी दुर्घटना बाहेक विभिन्न घटनामा २१८ जनाको मृत्यु भएको छ । 

सबैभन्दा बढी मृत्यु आत्महत्याबाट हुने गरेको पाइएको छ ।  सो अवधिमा ७९ जनाको आत्महत्याबाट मृत्यु भएको थियो । यसमा पनि  सबैभन्दा बढी झुण्डिएर ६५ जना, विष सेवनबाट १३ जना र एक जना हाम फालेर मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । 

प्रहरीका अनुसार ज्यान सम्बन्धी कसुरमा ८ जनाको मृत्यु, यस्तै फुटकर ज्यान ७७ जना , भवितव्य मृत्यु शीर्षकमा ५४ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय,चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले पछिल्लो समय आत्महत्याका घटना बढेको जानकारी दिनुभयो उहाँले पछिल्ला घटनाक्रमले सबै उमेर समूह र प्रकृतिका मानिसहरूले आत्महत्या गरेको बताउनुभयो  । ‘अहिले विशेष यही व्यक्ति तथा उमेर समूहले मात्र आत्महत्या गर्छ भन्ने छैन, अधिकारीले भन्नुभयो, क्षणिक आवेशमा आएर जोसुकैले पनि आत्महत्या गर्ने गरेको पाएका छौँ ।’  उहाँका अनुसार लागुऔषध, डिप्रेसन, दीर्घरोगी र सामान्य विवादका कारण पनि आत्महत्याका घटना भएका छन् । 

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका समाजशास्त्र संकायका प्राध्यापक होमनाथ अधिकारी आत्महत्याको मुख्य कारण आर्थिक समस्या भएपनि पछिल्लो घटनाहरूमा केही फरक प्रकृतिका आत्महत्या हुने गरेको बताउनु हुन्छ । ‘आत्महत्याको कारण उमेर, समूह अनुसार फरक हुन्छ ,उहाँले भन्नुभयो , अधिकांश आत्महत्या आर्थिक र पारिवारिक समस्याले हुने गर्छ ।’ आर्थिक समस्या बढ्नु, रोजगारी गुम्नु, सामाजिक प्रतिष्ठा, विकल्प नपाउनु, ऋणको प्रेसर बढ्दै जानु, समाजमा कसैको सहयोग नपाएको कारण पनि आत्महत्या हुने गरेको उहाँले बताउनु भयो । 

‘युवाहरूमा आत्महत्या  विशेष गरी बिछोड, कुलत बाट हुने गरेको छ , उहाँले भन्नुभयो, विवाहित पुरुष र महिलाको हकमा परिवारमा बढी जिम्मेवारी र विवादले पनि आत्महत्या निम्तने गर्छ । फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमको सिद्धान्तलाई उद्धृत गर्दै  अधिकारीले भन्नुभयो , ‘बिशेषगरी अन्त्यमा  मानिसमा डिप्रेसन बढ्दै जाँदा एक्कासि मानिसले आत्महत्या गर्छ  र आत्महत्या पछिको नतिजा उसले हेर्दैन पनि मतलब गर्दैन पनि ।’ आत्महत्या गर्दा अन्यलाई असर पनि नपर्ने र कुनै पनि समय र स्थान छनौट गरेर गर्न सक्ने भएकोले झुण्डिएर आत्महत्या बढी रोज्ने गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button