तपाईँ सुन्दै हुनुहुन्छः

पदाधिकारी चयन नगरी नेकपा (माओवादी केन्द्र) को बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को बैठक यही पुस २५ गते सम्मको लागि स्थगित भएको छ । 

आज दिउसो ४ बजे शुरु भएको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्विरोध निर्वाचित गरेको छ । साथै अन्य पदाधिकारीहरूको पनि आजै टुङ्गो लगाउने भनिएको थियो तर पदाधिकारीहरूको टुङ्गो नलगाई बैठक २५ गते बस्ने गरी स्थगित भएको हो ।

नेता वर्षमान पुन फर्किएपछि अर्को बैठकले पदाधिकारी चयन गर्ने बताइएको छ ।

महाधिवेशनले केन्द्रीय समिति चयन गरे पनि पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने व्यवस्था छ । 

यस्तै पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने पनि माओवादी केन्द्रले जनाएको छ ।

प्रज्ञा भवनमा आइतबार बन्दसत्रमा निवर्तमान अध्यक्ष एवम् केन्द्रिय सदस्य पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जनाको केन्द्रीय समिति घोषणा गर्नुभएको थियो  ६३ सदस्य चयन गर्न बाँकी छ ।

पार्टीको विधान अनुसार पार्टीको महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने र थप १५ प्रतिशत सदस्यको केन्द्रीय समितिले मनोनयन व्यवस्था छ ।  

अध्यक्षमा सर्वसम्मत चयन भएलगत्तै अध्यक्ष प्रचण्डले देश, जनता र पार्टीका निम्ति सेवा गर्ने आफ्नो लागि अन्तिम अवसर भएको भएको बताउनुभएको छ । 

केन्द्रिय समिति चयनमा भएको आलोचनामा नवनिर्वाचित अध्यक्ष प्रचण्डले स्थायी समितिमा छलफल भएर हलले पारित गरेको समेत जानकारी गराउनुभएको थियो । 

अध्यक्ष प्रचण्डले आफूलाई यस अवसरलाई आफूले सदुपयोग गर्ने बताउँदै प्रचण्ड व्यक्ति भएकाले प्रचण्ड नहुँदा पनि पार्टी चल्ने वातावरण बनाउने बताउनुभयो । 

उहाँले देश, जनता र पार्टीका निम्ति सेवा गर्ने आफूलाई प्राप्त भएको अन्तिम अवसरलाई उपयोगी बनाउनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रले केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षसहित पदाधिकारी चयन तथा मनोनयन गर्न बाँकी केन्द्रीय समितिका सदस्यको सूची समेत प्रस्तुत गर्ने बताइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button