तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण अफ्रिकाको संसद् भवनमा भएको आगलागीको छानबिन सुरु

केपटाउन। दक्षिण अफ्रिको संसद् भवनमा भएको आगलागीको घटनाको छानबिन सुरु भएको छ । 

देशको सबैभन्दा पुरानो र दोस्रो ठूलो सहर केपटाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतबार आगलागी भएको थियो । 

अग्निनियन्त्रक, स्वयम्सेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि अहिले छानबिन सुरु भएको हो । 

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आइतबारदेखि नै घटनाका बारेमा छानबिन सुरु भइसकेको जानकारी दिनुभयो । 

छानबिनका लागि सरोकारवाला उच्च अधिकारीहरूसहितको टोली परिचालन गरिसकिएको पत्रकारहरूलाई बताउनुभयो । 

उहाँले घटनाका बारेमा गम्भीर तरिकाले छानबिन गरी दोषी पत्ता लगाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

संसद् भवनमा भएको आगलागीका बारेमा केही व्यक्तिमाथि प्रश्न उठेको र त्यसको उचित उत्तर खोजिने उहाँको भनाइ थियो । 

“हामीले घटनाका बारेमा यथार्थ थाहा पाउन गहिरो छानबिन गर्न आवश्यक छ, साथै आगामी दिनमा यस्ता घटना नहुनका लागि पनि दोषीलाई कारबाही हुनुपर्दछ,” उहाँले भन्नुभयो ।  

आगलागीबाट क्षतिग्रस्त संसद् भवन अगाडि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले संसद्को सभा हलबाट आगलागी सुरु भएको पाइएको जानकारी दिनुभयो । 

स्थानीय समयअनुसार बिहान ५.०३ मा आगलागी सुरु भएको प्रारम्भिक विवरणबाट पत्ता लागेको उहाँले बताउनुभयो । 

आगलागीका कारण अहिलेसम्म यकिन हुन नसकेको पनि उहाँले जानकारी दिनुभयो । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button