दोस्रो ल्होसार कपको उपाधि चितवनको पल्टल एफसीलाई

दुलेगौँडा । शुक्लागण्डकी–९ स्थित भ्याली यूथ क्लबको आयोजनामा घारीमा सम्पन्न दोस्रो ल्होसार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि चितवनको पल्टल एफसीले जितेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक भ्याली यूथ क्लबलाई ३–१ को अन्तरले हराउँदै पल्टन एफसीले उपाधि उचालेको हो । निर्धारित समयमा दुवैतर्फ १–१ गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको हो ।
पल्टन एफसीले ५५ हजार ५ सय ५५ र द्वितीयमा चित्त बुझाएको आयोजक भ्याली यूथ क्लबले ३३ हजार ३ सय ३३ रुपैयाँ साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता भ्यालीका अङ्कित थापा, उत्कृष्ट खेलाडी भ्यालीका श्यामकाजी परियार र गोलरक्षक एफसीका कृष्ण गुरुङ घोषित भए ।
विजयी समूहलाई गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै नेता गुरुङले सङ्घ, प्रदेश र स्थानीय तहले खेल क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले यसअघिको गण्डकी सरकारले खेल क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै एक पालिका एक खेलकुद मैदानको अवधारणा अगाडि बढाएको उल्लेख गर्नुभयो ।
क्लब अध्यक्ष सुबास साहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ९ का अध्यक्ष लोकनारायण श्रेष्ठ, कार्यपालिका सदस्य गीता महत, नेकपा एमाले जिल्ला सचिवालय सदस्य देवलाल खनाल, शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना, क्लबका सचिव सुमन श्रेष्ठ, सहसचिव खड्क बहादुर गुरुङ, लगायतले बोलेका थिए । शनिवार शुरु प्रतियोगितामा ३१ समूहको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्