तपाईँ सुन्दै हुनुहुन्छः

सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ: सञ्चार मन्त्री कार्की

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । 

file photo

अनलाइन पत्रकार सङ्घको ११औँ वार्षिक साधारण सभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले पत्रकारिता पेसाको शुद्धीकरणका लागि अनलाइन पत्रकार सङ्घजस्ता विधागत संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले अनलाइन सञ्चारमाध्यमलाई पनि अन्य सञ्चारमाध्यम सरह लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली सञ्चार क्षेत्रमा अनलाइनको महत्त्व र औचित्य वर्तमान समयमा झन् बढेको बताउनुभयो ।

सङ्घका अध्यक्ष शिवप्रसाद सत्याल, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायतले अनलाइन पत्रकारिताको विकासका लागि सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । 

सङ्घको ११ औँ साधारण सभाले डिल्लीप्रसाद सापकोटाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सङ्घको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी कोषाध्यक्षमा निर्दोष घोरसइनेलाई निर्विरोध निर्वाचित गरेको हो । यस्तै सदस्यमा प्रजु पन्त, अमृत पौडेल र रविराज बराल हुनुभएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button