महाकाली सिंचाई तेस्रो चरण नहरमा भारतीय पक्षले एक महिना भित्रै पानी छोड्ने तयारी

कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको महाकाली सिंचाई तेस्रो चरण नहर अन्तर्गत भारतीय पक्षले निमार्ण गर्नुपर्ने टनकपुर ब्यारेजदेखि नेपाल भारत सीमानासम्मको १२ सय मिटर नहर निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।
भारतीपक्षले अबको एक महिना भित्रै नहरमा पानी छोड्ने तयारी गरेको छ । तर नेपालतर्फ भने मूल नहर निमार्णको काम पनि सम्पन्न हुन सकेको छैन । भारतीय पक्षले नहरमा पानी छोड्ने तयारी गरिरहँदा नेपालले भने उक्त पानी कहाँ प्रयोग गर्ने भन्ने अन्योल छ ।
आर्थिक वर्ष ०६२÷६३ देखि नहर निर्माणको काम सुरु भएको आयोजनाको नेपालतर्फ ब्रह्मदेवदेखि मुसे पानीसम्म १२.८ किलोमिटर नहर निर्माण भएको छ । भने १६ किलोमिटर नहर अहिले तीनवटा प्याकेजमा निर्माणाधीन छ ।
किसानको खेतसम्म पानी पुर्याउनका लागि शाखा नहरहरू निमार्ण नभएकाले भारतले पानी छोडे मुसेपानीको खोलासम्म पानी पुर्याउने आयोजनाको लक्ष्य रहेको आयोजनाका निर्देशक रण बहादुर बमले बताउनु भएको छ ।
आयोजनामा हालसम्म ४ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ । तर भौतिक प्रगति भने १३ प्रतिशत मात्रै छ । गत वर्षको बजेट भाषणमा यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपछि बजेट बढ्न थालेको हो । राष्ट्रिय गौरवको आयोजना घोषणा गरिए पनि गत आर्थिक वर्षमा ४१ करोड मात्रै बजेट आएको थियो । चालु आर्थिक वर्षमा १ अर्ब २२ करोड बजेट सुनिश्चित भएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाको मूल नहर १५१ किलोमिटर, शाखाहरू १७२ किलोमिटर र प्रशाखाहरू १ हजार २४ किलोमिटर निर्माण हुनेछन् । जसअन्तर्गत झण्डै एक हजारजति पुल, साइफनलगायत संरचना निर्माण गर्नुपर्नेछ । यो वर्ष मूल नहर निर्माण भएको क्षेत्रमा शाखा र प्रशाखा निर्माणको सर्भे सुरु गरिएको छ ।
२८ किलोमिटर मूल नहर क्षेत्रमा २२ वटा शाखाको डिजाइन इस्टिमेट र जमिन अधिग्रहणको काम यो वर्ष सुरु गरिनेछ । जसबाट ५ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । आयोजना निर्माण सम्पन्न गर्नका लागि १२ सय हेक्टर जमिन अधिग्रहण गर्नुपर्छ । हालसम्म १६७ हेक्टर मात्रै अधिग्रहण भएको छ ।
टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि १ हजार क्युसेक पानी पाउने महाकाली सन्धिमा उल्लेख छ । यसैगरी महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत नै शारदा नहरबाट दोधारा–चाँदनीका लागि साढे ३ सय क्युसेक पानी पाउनेछ ।
टनकपुरतर्फ नहर निर्माणको काम सुरु भए पनि दोधारा–चाँदनीतर्फ भने तयारी नै छैन । उक्त क्षेत्रमा झन् नेपाल–भारतमध्ये कसले सीमासम्मको नहर बनाउने भन्ने टुङ्गो लाग्न बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्