तपाईँ सुन्दै हुनुहुन्छः

प्रवर्द्धनका काम अघि बढाउन पर्यटन मन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेमबहादुर आलेले कोभिड–१९ महामारीका कारण समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेकाले प्रतिकुल परिस्थितिमा नयाँ रणनीतिका साथ पर्यटन प्रवर्द्धनको काम अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै मन्त्री आलेले पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो ।

पर्यटन मन्त्री आलेले बोर्डलाई सङ्घीय संरचना अनुरूप लैजान तथा कर्मचारीको वृत्ति विकासमा अवरोध नआउने गरी काम भइरहेको बताउनुहुँदै उत्साहका साथ काम गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले बढी प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो । 

यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button