सप्तरीमा मानव अधिकार उल्लङ्घनका ९४ घटना

सप्तरी । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व आज राजविराजमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
इन्सेक सप्तरीका अनुसार सन् २०२१ को अवधिमा आठ हत्यासहित ९४ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको हो ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार यस अवधिमा बलात्कारपछि नौ वर्षीया बालिकाको हत्या, १६ वर्षीय बालक, ८९ वर्षीय अति वरिष्ठ ज्येष्ठ नागरिक र ४७ वर्षीया महिलाको हत्यासहित गैर राज्य पक्षबाट आठ जनाको हत्या भयो । ज्येष्ठ नागरिक र महिलाको हत्याका आरोपित पहिचान हुन सकेको छैन ।
त्यस्तै, बालिका हत्या आरोपित एक जना थुनामा छन् । बालक हत्याका आरोपितमध्ये एक जना थुनामा, एक जना बाल सुधार गृहमा र एक जना फरार रहेका छन् । अन्य आरोपित मध्ये थुनामा छ जना, धरौटीमा चार जना, हालै पक्राउ परेका तीन जना र पक्राउ पुर्जी जारी भएका दुई जना छन् ।
त्यसैगरी, यो बर्ष आत्महत्या दुरुत्साहनका तीन घटनाका आरोपितहरूमा पति, सासू, ससुरा र देवर छन् । जसमध्ये एक जना पुर्पक्षका लागि धरौटी राखी तारेखमा रिहा भए भने पाँच जना गिरफ्तार भएका छैनन् ।
त्यस्तै, बालिका बलात्कारको १६ घटनामा पाँच जना, ६ देखि १८ बर्ष भित्रका १७ जना पीडित भएका छन् । पीडित मध्ये एक जना अपाङ्गता भएकी बालिका छन् । आरोपित १५ वर्षदेखि ७१ वर्षका २४ जना छन् । जसमा दुई जना आरोपित पीडितका बुवा नै रहेका छन् । आरोपित मध्ये चार जना पुर्पक्षका लागि थुनामा, एक बालक अभिभावकको जिम्मा जमानीमा, दुई जना धरौटीमा रिहा भएका छन् । आरोपित मध्ये १४ जना गिरफ्तार भएका छैनन् भने तीन जना हालै गिरफ्तार भएका छन् ।
त्यसैगरी, यो बर्ष बाल यौन दुर्व्यवहारमा नौ घटनामा ९ देखि १७ वर्षीया १० बालिका पीडित भएका छन् । आरोपितमा १७ देखि ४८ वर्षीय ११ जना रहेका छन् । जसमा शिक्षक विरुद्धको एउटा उजुरी दर्ता भएन । आरोपित मध्ये एक जना पुर्पक्षका लागि धरौटीमा रिहा भए, एक जना बाल सुधार गृहमा, तीन जना फरार र दुई जना पुर्पक्षका लागि थुनामा छन् भने तीन जना हालै गिरफ्तार भएका छन् । यो वर्षको अवधिमा ६ वर्षीय बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा छन् ।
त्यस्तै, महिला बलात्कारका नौ घटनामा १८ माथि ३० वर्षीया सम्मका नौ जना महिला पीडित भएका छन् । बलात्कारको घटनामा १९ देखि ३३ वर्षीय नौ जना आरोपितहरू छन् । जसमा एक जना थुनामा, दुई जना जिम्मा जमानीमा र तीन जना पुर्पक्षका लागि धरौटीमा रिहा भएका छन् भने तीन जना फरार छन् ।
यो वर्ष महिला बलात्कार प्रयासका नौ घटनामा २० देखि ३१ वर्षीया महिला पीडित भएका छन् । यसमा २१ देखि ५० वर्षीय १३ जना आरोपित रहेका छन् । दुई वटा उजुरी अनुसन्धानका क्रममा छ । बाँकी सात घटना मध्ये एक जना पुर्पक्षका लागि थुनामा, तीन जना धरौटीमा र तीन जना फरार रहेका छन् । यौन दुर्व्यवहार दुई घटनामा पीडितले उजुरी फिर्ता लिएका छन् ।
त्यसैगरी, बहुविवाहको नौ घटनामा २१ देखि ४६ वर्षीया महिला पीडित बनेका छन् । आरोपित मध्ये ६ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए, १० जना विरुद्ध पक्राउ पुर्जी जारी भयो भने दुई जना फरार छन् ।
त्यस्तै, गत वर्ष गर्भपतनको एउटा घटना अभिलेख थियो भने यो वर्ष दुई वटा घटना अभिलेख भएको छ । २४ वर्षीया महिला पीडित भएको घटनामा चार जना आरोपित पुर्पक्षका लागि धरौटीमा रिहा भए भने ३० वर्षीया महिला पीडित भएको घटनामा एक जना पुर्पक्षका लागि धरौटीमा रिहा भए र एक जना विरुद्ध म्यादी पुर्जी जारी भयो ।
त्यसैगरी, बालविवाहका एक घटना जनप्रतिनिधि, प्रहरी, इन्सेक र गाउँलेको पहलमा रोकिएको छ भने दुई बाल विवाहको आरोपित १० मध्ये एक जना पुर्पक्षका लागि धरौटीमा रिहा, एक जना विरुद्ध पक्राउ पुर्जी, पाँच जना विरुद्ध म्यादी पुर्जी र तीन जना फरार छन् ।
त्यस्तै, १४ वर्षीया एक बालिका अपहरणको आरोपमा एक जना आरोपित पुर्पक्षका लागि थुनामा छन् ।
त्यसैगरी, मानव बेचबिखनको एक वटा, अपहरणको तीन वटा, गैर कानुनी थुनाको वटा, अमानवीय व्यवहारको एक वटा, घरेलु हिंसाको छ वटा घटना अभिलेख गरिएको छ ।
त्यस्तै, कुटपिट/दुर्व्यवहारको छ वटा घटनामा घाइते हुनेमा चार कर्मचारी, एक शिक्षक, एक डाक्टर, एक सर्वसाधारण रहेका छन् ।
त्यसैगरी, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत गत वर्ष झैँ यो वर्ष पनि चार वटा घटना अभिलेख भएको छ । वडा कार्यालय, डिहबार थान, विद्यालय तोडफोड भएको छ भने नाप नक्सा बनाउने समान फ्याँकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्