तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज-रक्सौल सीमा नाकाको हेल्थ डेस्क प्रभावविहीन

बीरगंज । भारतमा कोरोनाको ओमिक्रोन भेरिअन्ट तीव्र गतिमा फैलिरहेको बेला यता वीरगन्ज–रक्सौल सीमा नाकामा राखिएको हेल्थ डेस्क प्रभावहीन देखिएको छ । 

भारतबाट आउने शङ्कास्पद व्यक्तिहरूको चेकजाँच गर्ने उद्देश्यले स्थापित गरिएको हेल्थ डेस्कमा कर्मचारीहरू नहुने गरेको कारण वीरगन्ज नाकाबाट कोरोना भित्रिन सक्ने जोखिम उच्च रहेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डा अनिशा महतोको नेतृत्वमा दुई जना नर्स, दुई जना सहायक र एक जना सहयोगीलाई खटाएको थियो । तर बिहान १० बजेदेखि ५ बजेसम्म उक्त हेल्थ डेस्कमा एक दुई जनाबाहेक अन्य कोही नभएको पाइएको छ । 

हाल भारतमा ओमीक्रोन सङ्क्रमणको सङ्ख्या बढ्दै गरेको अवस्थामा यता सीमा नाकामा भइरहेको हेलचक्राईमा सम्बन्धित निकाय मौन रहेकोले फेरी पनि वीरगन्जमा ओमीक्रोनको लहर आउन सक्ने सीमा क्षेत्रका बासिन्दाहरूको चिन्ता छ । 

अङ्ग्रेजी नयाँ वर्ष २०२२ मनाउन ठूलो सङ्ख्यामा भारतीय पर्यटकहरू नेपाल भित्रिएका छन् । तर हेल्थ डेस्क स्वास्थ्यकर्मीहरूको नभएको कारण कोरोना परिक्षण असाध्यै न्यून रहेको छ । 

हेल्थ डेस्कमा खटेका एक स्वास्थ्यकर्मीका अनुसार दैनिक ६ सय जनाको स्वास्थ्य परीक्षण भइरहेकोमा तीन/चार जना कोरोना पोजेटिभ पुष्टि हुने गरेको छ । 

डा अनिशा महतो भने हेल्थ डेस्कमा नआउने गरेको बताइएको छ । त्यति मात्र नभई महानगरले दिने गरेको स्वास्थ्य सामाग्री पनि अहिले नदिने गरेको कर्मचारीहरूले गुनासो गरेका छन् । 
यस विषयमा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत जयमोद ठाकुरसँग बुझ्दा सीमामा भेटिएका पोजेटिभ केसहरूलाई पहिचान गरी सम्बन्धित पालिकाहरूलाई जिम्मा लगाउने गरेको बताउनुभयो । 

भारतीय नागरिकहरूको हकमा भारतीय प्रहरीको जिम्मा लगाउने गरेको अधिकृत ठाकुरले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button