एमसीसी संसदबाटै पास हुन्छ: गृहमन्त्री खाँण
कास्की । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी संसदबाटै पास हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा खाँणले सबै राजनीतिक दलहरूलाई यो परियोजनाबारे बुझाएर संसदबाटै पास गराउने बताउनुभयो । एमसीसी पास गर्न सबै पार्टीको सहमति पाउने उहाँको विश्वास छ ।

नेपाली काँग्रेसको भरखर सम्पन्न महाधिवेशनले नयाँ ऊर्जा दिएको खाँणले उल्लेख गर्नुभयो । सबै तहका निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउने सरकारको दायित्व सरकारको रहेको र त्यसका लागि कुनै कसर बाँकी नराखी काम गर्न पनि मन्त्री खाँणले आग्रह गर्नुभयो ।
निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । अघिल्लो पटकको पहिलो स्थानीय निर्वाचन ३१ वैशाख २०७४ मा भएको थियो । खाँणले त्यही मितिलाई लक्षित गर्दै समयभित्रै निर्वाचन गर्ने बताउनुभयो ।
गृहमन्त्री खाँणले पोखरा नआएका जनताहरूलाई पोखरा घुम्न आउन अनुरोध समेत गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्