तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातपछि पत्तालेमा पर्यटक आकर्षित (फोटोफिचर)

सोलुखुम्बु । दर्जनौँ हिमश्रृङ्खलाहरुलाई सहजै नियाल्न सकिने सोलुखुम्बुको तल्लो क्षेत्रमा रहेको पत्तालेमा पछिल्लो समय परेको हिमपातका कारण आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सदरमुकामबाट नजिक रहेको र लामो समय हिउँ रहने भएकाले पत्ताले घुमफिरका लागि रोजाइमा पर्ने गरेको हो ।

सदरमुकाम सल्लेरीबाट सडक मार्ग प्रयोग गरी करिब एक घण्टाको दुरीमा रहेको सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका र ओखलढुङ्गाको सिमानामा पर्ने पत्तालेमा हिउँ खेल्न आउनेको सङ्ख्या धेरै रहेको हिमाली होमस्टेका सञ्चालक स्थानीय प्रकाश मगरले बताउनुभयो । 

समुद्र सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा रहेको पत्तालेमा बाक्लो हिउँ भएकाले छिमेकी जिल्लाका मानिस समेत हिउँ खेल्न आइरहेका उहाँको भनाइ छ । पछिल्लो समय सल्लेरीमा रहेका कर्मचारी, विद्यार्थी लगायत आसपासका जिल्लाका सर्वसाधारण समेतको रोजाइमा परेको उहाँले बताउनुभयो । 

हिउँ पनि खेल्न पाइने र सगरमाथा लगायत दर्जन बढी हिम शृङ्खलाहरूको दृश्यावलोकन पनि एकसाथ गर्न पाउने भएकाले पर्यटकको आकर्षण बढेको हो । यहाँबाट सगरमाथा, गौरीशङ्कर लगायत एक दर्जन बढी हिमाल अवलोकन गर्न सकिने हिउँ खेल्न पुग्नुभएका कैलाश कोइरालाले बताउनुभयो । 

पत्ताले क्षेत्रमा प्रसिद्ध धार्मिक स्थल गौरीटाप डाँडा पनि भएकाले हिउँ खेल्ने तथा घुमफिरका लागि आकर्षक बनेको हो । त्यहाँ गाईको खुट्टाको पाइला भएको प्राकृतिक ढुङ्गा रहेको छ भने शिव, पार्वती र गणेशको आकृति भएको प्राकृतिक ढुङ्गा भएकाले त्यसको अवलोकन गर्न समेत सयौँको सङ्ख्यामा मानिसहरू पुग्ने गरेका छन् । 

त्यस स्थानमा आगन्तुकको खान तथा बासका लागि गेस्ट हाउस, होमस्टे निर्माण भइसकेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button