मोरङका तीन पालिकामा राष्ट्रिय परिचय पत्रका विवरण सङ्कलन सम्पन्न

विराटनगर । नेपाल सरकारको राष्ट्रिय अभियानको रुपमा रहेको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम मोरङका तीन वटा पालिकामा सम्पन्न भएको छ ।
रङेली तथा सुनवर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा परिचय पत्रका लागि व्यक्तिगत र जैविक विवरण सङ्कलनको काम सम्पन्न भएको राष्ट्रिय परिचय पत्र अनुगमन समितिका अध्यक्ष एवं मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।
तीन वटा पालिकाको सबै वडा वडामा व्यक्तिगत तथा जैविक विवरण सङ्कलन र फोटो खिच्ने काम सम्पन्न भएको छ ।
जस अनुसार रङेली नगरपालिकामा २६ हजार, सुनवर्सी नगरपालिकामा २५ हजार तथा धनपालथान गाउँपालिकामा २१ हजार विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
तीन वटा पालिकापछि अहिले रतुवामाई नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउन विवरण सङ्कलन कार्य सुरु गरिएको छ ।
एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी दाहालले परिचय पत्र विवरण दर्ता अभियानको शुभारम्भ गर्नुभयो ।
पालिकाको १० वटै वडामा स्टेसन राखेर विवरण सङ्कलन र फोटो खिचाउने काम अहिले सुरु भएको छ ।
सो नगरपालिकामा १५ दिनसम्म यो अभियान सञ्चालन हुनेछ । नेपाली नागरिकता भएका नेपाली नागरिकले आफ्नै वडामा परिचय पत्र बनाउने व्यवस्था मिलाइएको छ ।
परिचय पत्र बनाउन जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताको आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले यो जिल्लामा परिचय पत्र बनाउँदा बसाइसराइको कागजपत्र पेस गर्नुपर्ने हुन्छ ।
तिन पुस्ते विवरणसहित अहिले नेपाली नागरिकताको विवरण राखिने व्यवस्था मिलाइएको र त्यसपछि क्रमशः नेपाल सरकारले प्रदान गर्ने सबै सेवा सुविधाको विवरण परिचय पत्रमा एकिकृत रुपमा राखिने भएकाले अनिवार्य रुपमा परिचय पत्र बनाउन प्रमुख जिल्ला अधिकारी दाहालले सबैलाई आग्रह गर्नुभयो ।
रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले नेपाली नागरिकता भएका नगरवासीलाई परिचयपत्र बनाउने अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।
तोकिएको अवधिमा पनि परिचय पत्र बनाउन छुटफुट भएका नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालय मोरङमा आएर परिचय पत्र बनाउने व्यवस्था मिलाइएको छ ।
असोज महिनाको पहिलो हप्तादेखि मोरङ जिल्ला यो अभियान सुरु भएको हो ।
यसैगरी केही दिनमै जहदा गाउँपालिकामा पनि यो अभियान सुरु गर्न लागिएको छ ।
असोजको पहिलो हप्ताबाट सुरु भएको परिचय पत्र विवरण सङ्कलनको काम ६ महिनाभित्र सबै स्थानीय तहमा सम्पन्न गरिने र विवरण सङ्कलन भएको ६ महिनाभित्र नेपाली नागरिकले आफ्नै वडामार्फत निःशुल्क रुपमा राष्ट्रिय परिचय पत्र पाउने छन् ।
अहिलेसम्म नेपालमा ५० लाखभन्दा बढी विवरण सङ्कलन भएको तथा २५ जिल्लामा विवरण सङ्कलनको काम सम्पन्न भएको र १२ वटा जिल्लामा सङ्कलनको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्