पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको बताउनुभएको छ ।
प्रज्ञा भवन कमलादीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सानो समूहबाट सुरु गरेर जनयुद्ध, शान्ति प्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर अहिलेको अवस्थामा पुर्याएको चर्चा गर्दै आफूले अन्तिम अवसर गुम्न नदिने बताउनुभयो ।
महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदनमा छलफल गर्न बन्द सत्रमा २५ वटा समूह बनाइएको थियो । सो समूहको समूहगत धारणा, सुझावसहित उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिनुभएको हो ।
जवाफमा अध्यक्ष प्रचण्डले हलमा आएका सबैको सुझावलाई समेटेर प्रतिवेदन आउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
यसअघि, आज लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन पारित भएको थियो । बन्द सत्रले विधान संशोधन मस्यौदा र वैचारिक एवम् राजनीतिक दस्ताबेज पारित गरे आजै केन्द्रिय सदस्य चयन प्रक्रिया सुरु हुनेछ ।

बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरू पारित भए आजै केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिनुभयो ।
बन्द सत्रमा केन्द्रीय सदस्यको नामसहितको प्यानल घोषणा गर्ने तयारी गरिएका छ । सो नाममा कसैले दाबी विरोध गरेमा वा सर्वसम्मत हुन नसेकेमा मात्र निर्वाचन हुनेछ ।
माओवादी केन्द्रको विधान अनुसार महाधिवेशन हलले केन्द्रीय सदस्यहरु मात्रै चयन गर्ने व्यवस्था गरेको छ ।
प्रतिनिधिहरूले केन्द्रीय सदस्य टुङ्गो लगाए पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समितिको चयन केन्द्रीय समितिले गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्