तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनाका घाइतेको उपचारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयबाट उपकरण सहयोग

हेटौँडा । सवारी दुर्घटनाका घाइतेहरूको प्राथमिक उपचारका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । 

मन्त्रालयमा आज भएको कार्यक्रममा बागमती प्रदेशका पाँच वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको हो । 

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । 

मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग सामग्री सहयोग गरेको छ । 

उपकरण सहयोगका लागि ५० लाख बजेट विनियोजन भएको केन्द्रका निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

निर्देशनालयले प्यासेन्ट मोनिटर, अक्सिजन कन्सर्नट्रेटर, इसिजि मेसिन, व्हिल चियर, बेड, स्टेचर, अक्सिमिटर लगायतका उपकरण सहयोग गरिएको छ ।

सहयोग सामग्री हस्तान्तरण गर्दै मन्त्री निमा लामाले प्रदेशका ग्रामीण भेगसम्म सडक पूर्वाधारको विस्तार भइरहेको र दुर्घटनाको दर समेत बढेकाले दुर्घटनामा घाइतेहरूको जीवन रक्षाका लागि सहयोग गरिएको उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले दुर्घटनाका घाइतेहरूलाई समयमै उद्धार र प्राथमिक उपचारका लागि मन्त्रालयले उपलब्ध गराएको उपकरणको सदुपयोग गर्न समेत सुझाव दिनुभयो । 

This image has an empty alt attribute; its file name is 3-8-1024x462.jpg

उहाँले आगामी दिनमा प्रदेशका सवारीको बढी चाप हुने सडकको प्रत्येक ५० किलोमिटरमा स्वास्थ्यकर्मीहरूको टिमसहित एम्बुलेन्सको व्यवस्था गरिने बताउनुभयो  । उहाँले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई सबल बनाउन निरन्तर सहजीकरण एवं सहयोगका लागि काम गरिरहेको र यसलाई निरन्तरता दिने बताउँदै सेवा प्रवाहलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, निक साइमण्ड इष्टिच्युटका कार्यकारी अधिकृत अनिलबहादुर श्रेष्ठ, विभिन्न स्थानीय तहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button