नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशन पुस २३ गतेदेखि हुने
उदयपुर । नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशन पुस २३, २४ र २५ गते हुने भएको छ ।
सदरमुकाम गाईघाटमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले जिल्ला अध्यक्ष इश्वरमणि राउतले पुस २३, २४ र २५ गते आठौँ जिल्ला अधिवेशन हुने जानकारी दिनुभयो ।
उहाँले अधिवेशनलाई लक्षित गरी एमालेले सङ्गठित सदस्य, प्रतिनिधि र जनप्रतिनिधिलाई दायित्व तोकेर खर्च व्यवस्थापन गर्न लागेको बताउनुभयो । अधिवेशनको लागि खर्च व्यवस्थापनका प्रत्येक सङ्गठित सदस्यबाट अनिवार्य २० रुपैयाँ जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।
हाल उदयपुर एमालेमा ८ हजार ४ सय ४५ जना सङ्गठित सदस्य छन् । सङ्गठित सदस्यबाट मात्र १ लाख ६८ हजार ९ सय रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ ।
त्यसैगरी, अधिवेशनमा जिल्लाभरबाट ७ सय प्रतिनिधि सहभागी हुदैछन् । प्रत्येक प्रतिनिधिलाई १ हजार दायित्व तोकिएको छ । यसबाट ७ लाख रुपैयाँ जम्मा हुने अध्यक्ष राउतले बताउनुभयो । यसका अलवा पार्टीबाट निर्वाचित भएका सबै जनप्रतिनिधिलाई एक महिनाको सुविधा उपलब्ध गराउने गरी जिल्ला कमिटीको निर्णय भएको उहाँले बताउनुभयो ।
जिल्लामा तीन जना प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख दुई जना, नगरपालिकाका मेयर र उपमेयर २२ मा ४ जना, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २३ मा ५ जना रहेका छन् ।
त्यसैगरी, ८ वटा स्थानीय तहमा ७५ वटा वडा रहेको उदयपुरमा १ सय ६९ जना एमालेका जनप्रतिनिधि रहेका छन् ।
त्यसमध्ये २६ जना वडाध्यक्ष रहेका छन् । सबैसँग एक महिनाको सुविधा माग गरिएको अध्यक्ष राउतले बताउनुभयो । सदरमुकाम गाईघाटमा पुस २३ देखि २५ गतेसम्म तीन दिन चल्ने अधिवेशनमा ८ देखि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी, अधिवेशनलाई लक्षित गरी तयार गरेको लोगोसमेत सार्वजनिक गरिएको छ । आयोजकले जिल्लाको भौगोलिक अवस्था, प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरलाई समेटेर तयार पारेको लोगो आज सार्वजनिक गरेको हो ।
लोगोको सबैभन्दा माथि पार्टीको चुनाव चिन्ह सूर्य, त्यसमुनी हँसिया हतौडा अङ्कित झन्डा रहेको छ । त्यसैगरी लोगो भित्र विशेष गरी ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरी, देशकै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योग, जिल्लाकै सबैभन्दा अग्लो ठाउँ चित्रेथान टावर, सबै जातजातिलाई समेटेर तयार पारेको कटारीको भुगोलपार्क, धार्मिक आस्था बोकेको त्रियुगा नदी, सेन वंशले राज्य गरेको चौदण्डिगढी दरबार, सप्तकोसीमा सञ्चालित जेटवोट, धार्मिक आस्थाको केन्द्र राधाकृष्ण मन्दिरका तस्बिरहरू राखिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्