बलाधिकृत रथी कार्कीलाई कायममुकायम प्रधान सेनापति तोक्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । सरकारले कोरोनाका कारण अध्ययन पुरा नहुँदै स्वदेश फर्किएका चिकित्सा शिक्षाका विद्यार्थीलाई बाँकी रहेको अध्ययन तथा प्रयोगात्मक अभ्यास पुरा गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यही पौष १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीन लगायतका देशमा चिकित्सा शिक्षाको स्नातक तहमा भर्ना भएका विद्यार्थीहरूलाई बाँकी रहेको अध्ययन पुरा गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।
यसैगरी, बैठकले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा घर बिदामा बस्नुहुने भएकोले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधान सेनापति तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने तथा निर्वाचन आयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले टाक्टोल लामाजुरा खण्डको ट्याक खोल्न सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ को २ दशमलव ५७ हेक्टर राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यस्तै, बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा.गङ्गादत्त आचार्यलाई सार्क कृषि केन्द्र ढाकामा वरिष्ठ कार्यक्रम विशेषज्ञका रुपमा काम गर्न काजमा खटाउने निर्णय गरेको छ ।
यसैगरी, बैठकले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको अध्यक्षमा तनहुँका श्रीराम पन्त र कार्यकारी निर्देशकमा तनहुँकै शङ्कर रानाभाटलाई नियुक्ति गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्