तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको महाधिवेशन : केन्द्रिय सदस्य चयन प्रक्रिया सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन अन्तर्गत आजको बन्दसत्रमा केन्द्रिय सदस्य चयन प्रक्रिया सुरु हुने भएको छ । पुस ११ गतदेखि जारी महाधिवेशन अन्तर्गत आज अपराह्न १ बजे सुरु हुने बन्दसत्रले प्रस्तुत सबै प्रतिवेदन पारित गर्दै केन्द्रिय सदस्य चयन प्रक्रिया सुरु गर्ने भएको हो ।

आजको बन्दसत्र सुरु भए लगत्तै लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिएको छ । सो प्रतिवेदनहरू पारित भएपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ नेता देवप्रसाद गुरुङले र राजनीतिक दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुहुुनेछ । 

अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहहरूबाट आएका सुझावहरूको प्रस्टीकरणका लागि आवश्यक  छलफल गर्न स्थायी समिति बैठक बसेको छ । नेता गुरुङको विधान संशोधन मस्यौदा र अध्यक्ष प्रचण्डको राजनीतिक दस्ताबेजमा महाधिवेशन प्रतिनिधिहरूको समूहगत धारणा राख्ने क्रम हिजो सकिएको थियो ।

आज अध्यक्ष प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरू पारित भए लगत्तै केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । बन्दसत्रमा केन्द्रीय सदस्यको नामसहितको प्यानल घोषणा गर्ने तयारी गरिएका छ । सो नाममा कसैले दाबी विरोध गरेमा वा सर्वसम्मत हुन नसेकेमा मात्र निर्वाचन हुनेछ ।

 माओवादी केन्द्रको विधान अनुसार महाधिवेशन हलले केन्द्रीय सदस्यहरु मात्रै चयन गर्ने व्यवस्था गरेको छ । प्रतिनिधिहरूले केन्द्रीय सदस्य टुङ्गो लगाएपनि पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समितिको चयन केन्द्रीय समितिले गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button