संस्कृति संवर्द्धनमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । तमू ल्होसार २०७८ का अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेको विविध भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
गुरुङ समुदायको महान् पर्व तमू ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर हरेक वर्षको पौष १५ गते तमु ल्होसार पर्वको रूपमा मनाउने गर्दछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनको रूपमा तमु ल्होसार पर्व मनाउने गरिएको हो । ल्होसार चाड विशेष गरी भोट बर्मेली समुदायका मानिसहरूले मनाउने महान् चाड मानिन्छ भने यो चाड नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकहरूमा पनि मनाउने गरिन्छ ।

प्रधानमन्त्री देउवाले यस्ता पर्वहरूले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले यस पर्वले समुदायमा सामाजिक सद्भाव अभिवृद्धिका लागि योगदान पुग्ने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद्का अध्यक्ष जगत बरामले तमू ल्होसार राष्ट्रिय पर्व भएकाले यसलाई राष्ट्रिय क्यालेण्डरमा नै उल्लेख गरी नियमित सार्वजनिक बिदाको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।
ल्होसारका अवसरमा आयोजित कार्यक्रममा गुरुङ समुदायका विभिन्न क्षेत्रका झाँकी र्यालीहरू प्रदर्शन गरिएको थियो भने विभिन्न विधाका विशिष्ट व्यक्तिहरूलाई प्रधानमन्त्री देउवाले सम्मान गर्नुभएको थियो ।
ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।









प्रतिक्रिया राख्नुहोस्