हेटौँडा उपमहानगरपालिकाद्वारा सन्दुक रुइत लगायत ८ जनालाई सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने ८ जनालाई सम्मान गरेको छ । बिहीबार भएको १०औँ नगरसभाका अवसरमा डा रुइतसहित सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउने ८ जनालाई नगद २५ हजारसहित सम्मान गरेको हो ।
बिहीबार भएको नगर परिषद्को उद्घाटन कार्यक्रममा नेत्र विशेषज्ञ डा. रुइतसहित हेटौँडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र सामाजिक व्यक्तित्व आयना बार्का न्यौपाने, मूर्तिकार लक्ष्मण भुजेल, मकवानपुरका फुटबल खेलाडी अञ्जन विष्ट, सुनिल बल, आयुष घलान र बक्सिङ खेलाडी सुशील घिमिरेलाई २५/२५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा डा रुइत भने काम विशेषले सहभागी हुनुभएन । कार्यक्रममा उपमहानगरपालिकाका कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।
चालु आवको खर्च २१ दशमलव ५४ प्रतिशत
यसैबीच हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म २१.५४ प्रतिशत अर्थात् ६० करोड ५४ लाख रुपैयाँ खर्च भएको जनाएको छ । १०औँ नगरसभाका अवसरमा कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ३४.११, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १२.८४, पूर्वाधार विकास तर्फ १६.८८, सामाजिक विकास तर्फ २५.७७ र आर्थिक विकास तर्फ ९.८९ प्रतिशत गरी कुल बजेटको २१.५४ प्रतिशत मात्र खर्च भएको जनाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक आर्थिक वर्षका लागि कूल बजेट २ अर्ब ६० करोड १५ लाख ५२ हजार ९१० रुपैयाँ बराबरको बजेट पारित गरेकोमा आज भएको नगर सभाले बजेट संशोधन गरेर कुल २ अर्ब ८५ करोडको बजेट प्रस्तुत गरेको छ ।
दुई वडालाई थप अनुदान
यसैबीच उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय प्रगतिको आधारमा दुई वडालाई थप अनुदान प्रदान गरेको छ । आज सम्पन्न नगरसभाले प्रथम हुने १९ नम्बर वडालाई थप २० लाख र ९ नम्बर वडालाई १५ लाख रुपैयाँ थप अनुदान प्रदान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्