एमाले अछामको आठौँ जिल्ला अधिवेशन पौष २३ गते
अछाम । नेकपा एमाले जिल्ला कमिटी अछामको बैठकले जिल्ला अधिवेशन पुस २३ गते गर्ने र त्यसको तयारीका लागि विभिन्न निर्णय गर्दै सकिएको छ ।कार्यवाहक जिल्ला अध्यक्ष नन्दबहादुर कडायतको अध्यक्षतामा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले पौष २३ गते हुने पार्टीको आठौँ जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।
अधिवेशन सफल पार्न विभिन्न समिति बनाई जिम्मेवारी तोकिएको छ । बैठकले जिल्ला अधिवेशनका लागि १७ जना प्रतिनिधि छनौट गरेको प्रचारप्रसार समिति संयोजक प्रकाश शाहले जानकारी दिनुभयो ।
यसैगरी कार्यवाहक अध्यक्ष कडायतको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, चन्द्र बोहराको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । युवा नेता भीम रावलको संयोजकत्वमा आवास व्यवस्थापन समिति, लिलाराज केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, सरिता उपाध्यायको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।
बैठकले प्रकाश शाहको संयोजकत्वमा प्रचारप्रसार समिति, बलबहादुर कुँवरको संयोजकत्वमा जुलुस व्यवस्थापन समिति, दीपक अधिकारीको संयोजकत्वमा सांस्कृतिक समिति तथा डिबि साउँदको अध्यक्षतामा स्वयंसेवक समिति गठन गरिएको प्रचारप्रसार समिति संयोजक शाहले बताउनुभयो ।
पुस २३ गते मङ्गलसेन खुलामञ्चमा अधिवेशनको उद्घाटन समारोह गरिने तथा २४ गते मालिका रङ्गशालामा बन्दशत्र गरिने निर्णय गरिएको छ । एमाले अछामको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन नजिकिएसँगै नेतृत्वका लागि आकाङ्क्षी समेत देखिन थालेका छन् । जिल्ला अध्यक्षको लागि नेताद्वय चन्द्र बोहरा र प्रकाश शाह प्रमुख दाबेदार रहने भएको पार्टी श्रोतले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्