तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा कोरोना विरुद्धको खोप अभियान : तनहुँमा ८९ प्रतिशत मात्र विद्यार्थी सहभागी

नहुँ । गत ७ गतेदेखि १३ गतेसम्म तनहुँका विद्यालयहरूमा चलेको कोरोना विरुद्धको खोप अभियानमा ११ प्रतिशत विद्यार्थीहरू छुटेका छन् । 

१२ वर्षदेखि १७ बर्ष उमेरसम्मका विद्यार्थीलाई दिइएको मोडेर्ना खोप अभियानमा ८९ प्रतिशत विद्यार्थी मात्र सहभागी भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । 

यसअघि, उक्त उमेर समूहका विद्यार्थीहरू जिल्लाको १० स्थानीय तह अन्तर्गत रहेका विद्यालयमा  ३६ हजार नौ सय ५५ जना रहेको जनाइएको थियो । 

विद्यालयहरूले नै उपलब्ध गराएको तथ्याङ्क अनुसार नै खोप अभियान चले पनि अभियानमा ३२ हजार आठ सय ४४ जना विद्यार्थी मात्र सहभागी भए । 

स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले कति पय विद्यार्थीहरू खोप लगाउन डराएका कारण छुट भएको जानकारी दिनुभयो । 

उहाँले अभियानले तोकिएका उमेर समूहका सबै विद्यार्थीलाई समेट्न प्रयास गरे पनि विद्यालयले दिएको तथ्याङ्कमा त्रुटि रहेको बताउनुभयो । 

“विद्यालयले यस अघि दिएको तथ्याङ्क गलत रहेछ केही बाहेक सबै विद्यार्थीले खोप पाएका छन् तर पनि तथ्याङ्कमा धेरै छुटेको देखियो ।”  उहाँले भन्नुभयो ।

खोप अधिकृत अधिकारीले खोप अभियानमा छुट भएका विद्यार्थीले तत्काल सम्पर्क राखे खोप उपलब्ध गराइने अन्यथा छुट हुनसक्ने बताउनुभयो । छुटेका विद्यार्थीले अन्य जिल्लाको अभियानमा सहभागी भए पनि खोप लगाउन सक्ने उहाँले जनाउनुभएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तनहुँमा १६ हजार ६ सय ६३ जना छात्रा र १६ हजार एक सय ८१ जना छात्रले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । 

खोप अभियानमा सहभागी भएका विद्यार्थीलाई चार हप्ता पछि दोस्रो मात्राको खोप प्रदान गरिने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button