तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

गलेश्वर। दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।

मङ्गलवार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मत कार्य हुन्छ”, अध्यक्ष छन्त्यालले भन्नुभयो ।

त्यसै गरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोसलगायतका बस्तीमा घरका छाना ढाकिएका छन् भने जमिन पुरै ढाकिएको छ । रुखसमेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषक खुसी भए पनि पशुपालन गर्ने किसान भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन् । बुधवार म्याग्दीको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ ।

घर र हिँड्ने बाटो पनि हिउँले पुरिएपछि स्थानीयवासीलाई निकै सकल भएको मुदीका बलबहादुर विकले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार २२० मिटर उचाइमा अवस्थित जिल्लाको अतिविकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्र भारी हिमपात भएको छ । गुर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ ।

चिसो र हिमपातले बालबालिका, वृद्ध वृद्धालाई जोखिम मुस्किल भएको छ । गाउँपालिकाको वडा नं १ गुर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा समेत हिमपात भएपछि आवतजावतसमेत रोकिएको छ । गूर्जामा लगातार हिमपात भए करिब चार फिटसम्म हिउँ जम्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button