तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री राईको शुभकामना सन्देश

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण गुरुङ(तमु) दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईले आज जारी गर्नुभएको शुभकामना सन्देशमा तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतका रूपमा मनाउने उल्लेख छ । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रूपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय वेषभूषा लगाउने चलन छ ।

“नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यति मात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो”, सन्देशमा उल्लेख छ ।

हाम्रा जुनसुकै पर्व राष्ट्रिय एकताका माध्यम बन्न सकोस् भन्दै मुख्यमन्त्री राईले यी पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीमा तमु ल्होसारका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button