सूर्य नेपाल इस्टर्न ओपनको उपाधि राईलाई
काठमाडौँ । सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रबहादुर राईले जितेका छन् ।
धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् ।
उपाधिसँगै उनले १ लाख ३५ हजार रुपैयाँ प्राप्त गरे । शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे । सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे । एमेच्योरतर्फ दोस्रो स्थान युवराज भुजेल र तेस्रो स्थान सद्भाव आचार्य ले हासिल गरे ।
व्यावसायिकतर्फ दोस्रो स्थानमा धरानकै बलभद्र राई रहे । उनले समग्रमा ७ ओभर २ सय १७ स्कोरका साथ ८८ हजार रुपैयाँ जिते । तेस्रो स्थानमा ९ ओभर २ सय १९ स्कोर जोडेका नीरज तामाङले ६५ हजार रुपैयाँ हात पारे ।
चौथो स्थानमा सञ्जय लामाले १० ओभर २ सय २० स्कोरसाथ ५३ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रवार व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्