तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एक वर्षमा ९२ वटा मानव अधिकार उल्लङ्घनका घटना

चितवन । चितवनमा करिब १ वर्षको अवधिमा कुल ९२ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज भरतपुरमा एक कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त सङ्ख्यामा मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् । 

२०२१ जनवरी देखि डिसेम्बर १५ सम्मको तथ्याङ्क अनुसार सो अवधिमा बालअधिकार उल्लङ्घन घटनामा मा ५० बालिका र १ बालक रहेका छन् । जसअनुसार बालिका विवाह १, बालिका बेचबिखन ३ वटा, बालिका बलात्कारका घटना २९ वटा र बालिका यौन हिंसाका घटना १७ वटा भएका थिए । 

यस्तै सो अवधिमा कुटपिटबाट २ जना पुरुष, धारिलो हतियार प्रयोग गरी १ जना पुरुष र खुल्न नसकेको कारणबाट एक जना महिलाको मृत्यु भएको छ । 

उक्त घटना मध्ये ३७ वटा महिला हिंसाका घटना भएका छन् । जस अनुसार घरेलु हिंसाबाट एक जना, बहुविवाह घटना १० वटा, बलात्कारका घटना १६ वटा, बलात्कार प्रयास ७, महिला बेचबिखन ३ वटा घटना भएका थिए । 

इन्सेकका चितवन प्रतिनिधि दीपेन्द्र अधिकारीले गत वर्षको तुलनामा यस वर्ष चितवनमा मानव अधिकारका घटनामा केही कमी आएको बताउनुभयो  । उहाँका अनुसार गत वर्ष २०२० मा कुल ११० वटा मानव अधिकार उल्लङ्घनका घटना भएका थिए । जस अनुसार महिला बलात्कारका १५ र बलात्कार प्रयासका ७ वटा, बालिका बलात्कारका ३६ वटा, र ५ वटा बलात्कार प्रयासका घटना भएका थिए । 

सो अवधिमा ४ महिला र ५ जना पुरुषको हत्या भएको थियो भने उक्त वर्षमा ६ ना बालिका यौन दुर्व्यवहारको शिकार भएको इन्सेकले जनाएको छ । यस्तै बहुविवाहका १४, आत्महत्या दुरुत्साहनका ३ वटा घटना, मानव बेचबिखनका ४, बम विष्फोटका १, हातहतियार सम्बन्धी १ र राज्य विरुद्ध अपराधका ५ वटा घटना भएका थिए । 

सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले यस्ता घटना न्यूनीकरण गर्न प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । समाजको संरचना, परम्परा, संस्कृतिका कारण पनि यस्ता घटनाहरूमा वृद्धि हुने उहाँको भनाई छ । ‘विषय सानो हुन्छ तर घटना ठुलो र अतिरञ्जित भइदिन्छ ।’उहाँले भन्नुभयो । उहाँका अनुसार सामाजिक सञ्जालको प्रभाव, दुरुपयोगका कारण पनि पछिल्लो समय समाजमा नसोचेका र अकल्पनीय घटना बढ्दै गएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button