राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि निष्कर्ष प्रस्तुत गर्दै प्रतिनिधिहरू

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरूले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम जारी छ ।
महाधिवेशन अन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गर्नुभएको विधान संशोधन मस्यौदामाथि प्रतिनिधिहरूको समूहगत निष्कर्ष प्रस्तुत भइरहेको छ ।
दुवै प्रतिवेदनमाथि छलफल गर्न बन्दसत्रले २५ वटा समूह बनाएको थियो । समूहमा हिजो र आज छलफल गरी आएको निष्कर्ष आज दिउसो १ बजेदेखि सुरु भएको बन्दसत्रमा समूहका नेताहरूले छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ ।
बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न र समूहगत प्रस्तुति लिखित रूपमा राख्न समेत निर्देशन जारी गरिएको छ ।
प्रस्तुतिको अभिलेखीकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएका माओवादी केन्द्रले समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरेको छ ।
आज राजनीतिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन हलबाट अनुमोदन भए भोलिदेखि नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ । यसका लागि पार्टीको निर्वाचन आयोगले काम थालिसकेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्