अवरुद्ध भएको पाँच महिना भइसक्दा समेत सडक मर्मत भएन

सल्यान । सेरा– सोरा– गिठाचौर –ढोरपिपल जोड्ने ग्रामीण सडक अवरुद्ध भएको लामो समय भइसक्दा समेत अझै मर्म सम्भार हुन सकेको छैन ।
वर्षातको समयमा अवरुद्ध भएको ग्रामीण सडक अर्को वर्षा लाग्ने समय भइसक्दा समेत स्थानीय सरकारले सडक खुलाउनेतर्फ चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।
वर्षातका कारण सडकको ठाउँ ठाउँमा पहिरो र सडक बगाउँदा सडक अवरुद्ध बनेको चार पाँच महिना भइसक्दा समेत सडक मर्मतका लागि बनगाड कुपिण्डे नगरपालिका बेखर हुँदा स्थानीयले सास्ती व्यहोर्दै आइरहेका छन् ।
सडक अवरुद्ध भएको लामो भइसक्दा समेत सडक मर्मत सम्भार नहुँदा वडा कार्यालय तथा सदरमुकाम पुग्न दुई तीन घण्टा हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय डिलबहादुर बोहराले बताउनुभयो ।
नगरपालिकालाई सडक मर्मत सम्भारका लागि पटक पटक अनुरोध गर्दा पनि आश्वासन मात्र पाउने गरेको उहाँको गुनासो छ ।
“कहिले मेसिन बिग्रिएको, कहिले अपरेटर नभएको भन्दै नगरपालिकाले टार्दै आइरहेको छ ।” उहाँले भन्नुभयो ।
सडक मर्मत नहुँदा गाउँमा कोही बिरामी हुँदा दुई तीन घण्टा स्टेचरमा बोकेर अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता रहेको बोहराले बताउनुभयो । “गाउँमा पनि गाडी आउने भयो भनेर खुसी भएका थियौँ, तर त्यो खुसी धेरै दिन नै टिक्न सकेन ।”, उहाँले भन्नुभयो ।
पालिकालाई वडाबाट पनि सडक खुलाउन आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको वडा सदस्य चावल सिंह वि.क.ले बताउनुभयो ।
सडक मर्मतमा कुनै पक्षले पनि चासो नदिएपछि स्थानीय बासिन्दालाई जनश्रमदान गराएर सडक खुलाउने तयारी भएको वि.क.ले बताउनुभयो ।
जयतपानी बालुवासंग्रही सडक खण्डको वैकल्पिक सडकको रुपमा समेत रहेको उक्त सडक मर्मत सम्भारका लागि कुनै पक्षले चासो नदिनु विडम्बना भएको वि.कले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्