अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा निगरानी बढाउन निर्देशन

भद्रपुर, झापा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले झापा जिल्लाका सीमावर्ती क्षेत्रमा निगरानी बढाउन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
महानिरीक्षक भएपछि पहिलो पटक झापा आउनुभएका क्षेत्रीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमणको क्रममा प्रहरी अधिकृत तथा जवानहरूलाई यस्तो निर्देशन दिनुभएको हो ।
भारतसँगको खुल्ला सिमानाका कारण जिल्लामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न अहोरात्र प्रहरी तैनाथ रहनुपर्ने महानिरीक्षक क्षेत्रीको भनाइ थियो ।
खुला सीमाका कारण झापामा नाकामा हुने अपहरण, विस्फोटक पदार्थको ओसारपसार, मानव बेचबिखन, हातहतियार ओसारपसार, जाली नोटको कारोबार, लागू औषध ओसारपसार, भन्सार छली गरी चोरी निकासीजस्ता आपराधिक गतिविधि हुने गरेकोले निगरानी बढाउनुपर्नेमा उहाँको जोड थियो ।
झापामा जिल्ल प्रहरी प्रमुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएका महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको स्थलगत निरीक्षण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्