दोलखाको उच्च भेगमा हिमपात, यातायात अवरुद्ध, विद्यालय बन्द

दोलखा । कालिञ्चोक लगायत दोलखाको उच्च पहाडी भेगमा मंगलवार रातिदेखि हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ भने उच्च पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुनका साथै विद्यालयहरू समेत बन्द भएका छन् ।
कालिञ्चोकको मन्दिर परिसर तथा कुरी क्षेत्रमा बिहीबार राति देखिनै लगातार हिमपात भै रहेको होटल सुनपातिका सञ्चालक हरि ओलीले बताउनुभयो । लगातारको हिमपातले कालिञ्चोकको बसाई कष्टकर भएपनि पर्यटकहरू भने रमाइलो गरिरहेको ओली बताउनुहुन्छ ।
झण्डै एक फिट हिउँ जमेको कालिञ्चोक क्षेत्रमा हजार भन्दा बढी पर्यटकहरू रमाई रहेका छन् । कुरी क्षेत्रका होटलहरु प्रायः भरिभराउनै रहेको होटल व्यवसायीहरूले बताउनुभएको छ । लगातारको हिमपातले गैरी भन्दा माथि यातायात जान नसकेपछि चेन भएको गाडीले पर्यटकलाई कालिञ्चोकसम्म पु¥याउने गरिएको स्थानीय होटल व्यवसायीहरू बताउनुहुन्छ ।

त्यसैगरी दोलखाको खरीढुङ्गामा पनि हिमपात भै रहेको स्थानीय जीतबहादुर श्रेष्ठले बताउनुभयो । लगातारको हिमपातको कारण काठमाडौँबाट दोलखाको विभिन्न ठाउँको लागि आएका बस लगायतका सवारी साधनहरू रोकिएको श्रेष्ठले बताउनुभयो । हिमपातले माटो राम्रो हुने र आलु खेती फस्टाउने भएकोले खरीढुङ्गाका किसानहरू चिसोले कष्ट बेहोर्नु परेपनि खुसी भएका छन् ।
लगातारको हिमपातको कारण खरीढुङ्गामा रहेको सुर्के मावि खरीढुङ्गा, बुद्ध प्रावि झाक्रिचौर र कालीदेवी प्रावि झिगाने बन्द रहेको सुर्के मावि खरीढुङ्गाका प्रधानाध्यापक जय श्रेष्ठले बताए ।
हिमपातका कारण खरीढुङ्गामा रोकिएका यातायात सुचारु गर्न पहल भै रहेको दोलखाका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताउनुभयो । अहिले हिमपात भै रहेको छ, मौसममा केही सुधार भएपछि सडकमा जमेको हिउँ फालेर यातायात सुचारु गरिने छ – प्रहरी नायव उपरीक्षक रिजालले भन्नुभयो ।

दोलखाको शैलुङ, खावाडाँडा लगायतका उच्च पहाडी भेगमा समेत मंगलवार बेलुका देखिनै लगातार हिमपात भै रहेको स्थानीयले बताउनुभएको छ । लगातारको हिमपातको कारण शैलुङ क्षेत्रमा पर्ने ढुङ्गे, झोर मनगाँउ, पात्ले, खोलाखर्क आसपासका विद्यालयहरु बन्द रहेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्