बीएण्डसीमा कालो ढुसीको सफल उपचार
झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा कालो ढुसीको सफल उपचार भएको छ ।
आज हस्पिटलमै आयोजित पत्रकार सम्मेलनमा इलाम–७ की पोस्ट कोभिडकी बिरामी ४५ वर्षीया गीता सुवेदीको कालो ढुसीको सफल उपचार भएको जनाइएको हो ।

बीएण्डसीका डाक्टरहरू राजु श्रेष्ठ, लक्ष्मण ठाकुर, स्वास्थ्यकर्मी गङ्गा अधिकारी लगायतको टिमले गीताको १४३ दिनपछि सफल रुपमा उपचार गरेको हस्पिटलले जनाएको छ ।
गीतालाई गत साउन १९ गते सास फेर्न अप्ठेरो र खोकी धेरै लागेपछि इलामबाट उपचारका लागि बीएण्डसी ल्याइएको थियो । त्यही दिन एन्टिजेन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि कोरोना नेगेटिभ देखिए पनि अक्सिजन कम, फोक्सोको समस्या र सुगर पनि नघटेपछि कोभिड निमोनिया (पोस्ट कोभिड) भएको डा. श्रेष्ठको भनाइ छ । ११२ दिन आइसियुमा राखेर उपचार गरेपछि मङ्सिर १४ गते जनरल वार्डमा सारिएको डा. श्रेष्ठले बताउनुभयो । गीतालाई ९९ दिन त भेन्टिलेटरमा राखिएको थियो ।
श्रीमान् रामजी सुवेदीले बिरामीको अवस्था हेर्दा आफूले माया मारेको भए पनि हस्पिटलले श्रीमतीलाई बचाइदिएकोमा खुसी व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्