तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीका केही क्षेत्रमा बुधवार साँझसम्म निषेधाज्ञा

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । 

ईश्वरपुर नगरपालिकाका वडा नं ४, ५, ६, ८ र ९ लाई घेरा हाली निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक जनाको ज्यान गएपछि उत्पन्न विवादले उग्र रूप लिएपछि द्वन्द्व नियन्त्रण गर्न भन्दै आज दिउँसो ३ बजेदेखि बुधवार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

आइतबार साँझ करिब ९ बजे सवारी दुर्घटनामा परेर स्थानीय रामकुमार महतोको ज्यान गएको थियो । ट्रकलाई उछिन्ने क्रममा मोटरसाइकलमा सवार महतो गस्तीमा रहेको प्रहरी भ्यानसँग ठोक्किन पुगेका थिए । 

त्यसलगत्तै महतोको ज्यान गएको थियो । सोही विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडालाई गृह मन्त्रालयमा फिर्ता बोलाएर गौतमलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी पठाइएको थियो । 

आन्दोलनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका र त्यस क्रममा भएका झडपमा परेर करिब १५ जना सुरक्षाकर्मी घाइते भएका थिए । 

निषेधाज्ञा जारी गरी सर्वपक्षीय सर्वदलीय छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदर्शन स्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button