तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा नाटक लेखन कार्यशाला सम्पन्न

कास्की । कास्कीमा आयोजित ११ दिने नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । 

गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा पोखरा थिएटरसँगको सहकार्यमा पुस १ गतेबाट सुरु भएको कार्यशालामा ८ जना प्रशिक्षार्थी सहभागी बनेका थिए । 

कार्यशालाको सहजीकरण निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले गर्नुभएको थियो ।

समापन समारोहका प्रमुख अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आगामी दिनमा समेत प्रतिष्ठानले नाट्य क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको अध्यक्षतामा भएको कार्यशाला समापन समारोहमा बोल्दै कुलपति बिखर्चीले गण्डकी प्रज्ञा प्रतिष्ठानले निरन्तर रुपमा यस्ता कार्यशालाको आयोजना गर्ने बताउनुभयो । 

अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले कार्यशालामा सहभागी प्रशिक्षार्थीको सिकाइ प्रतिको लगाव तारिफ योग्य रहेको बताउनुभयो । 

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक लेखन कार्यशाला वार्षिक रुपमा सञ्चालन गर्ने बताउनुभयो । यस्ता कार्यशालाले युवा नाटककार उत्पादन गर्न सघाउने उहाँको विश्वास छ ।

कार्यशालामा सहभागी रिता ज्ञवालीले कार्यशालाले नाटक लेख्ने जोस बढेको बताउनुभयो । नाटक लेख्ने प्रोसेसको बारेमा नयाँ ज्ञान थपिएकोले नाटक लेखनमा निखारता थपिने उहाँको विश्वास छ । 

देशभरबाट आवेदन दिन मिल्ने गरी खुल्ला रुपमा आवेदन खुलाइएकोमा आवेदन दिने मध्येबाट ८ जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको कार्यशालाका संयोजक एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका सङ्गीत नाट्य तथा संस्कृति विभाग प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button