तत्काल उद्धार नहुँदा ओडारमा बस्ने चेते कुलालको रहस्यमय मृत्यु

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१ कुलालवाडास्थित एक ओडारमा बस्दै आउनुभएका ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मृत्यु भएको छ ।
१५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको समयमै उद्धार नहुँदा गए राती ओडारमै मृत्यु भएको हो ।
खाद्यान्न र लत्ता कपडाको राहत दिए पनि जुम्लामा बढ्दै गएको अत्यधिक चिसोबाट ओत लाग्ने ठाउँ नहुँदा ओडारमा बस्ने कुलाललाई तलमाथि हुनसक्ने चिन्ता सरोकारवालाले गरिरहेका थिए । चाडै घर बनाइदिने, नागरिक उपलब्ध गराउने तयारीमै रहे पनि कुलालको सोमबार राती रहस्यमय मृत्यु भएको छ ।
गएको शुक्रवार मात्रै कुलाल लाई दुई बोरा चामल, सिरक, कम्बल राहत दिइएको थियो । तर उहाँले तत्काल घर बनाइदिन माग गर्नुभएको थियो ।
१५ वर्षदेखि ओडारमा बास बस्दै आउनुभएका कुलालले चामल कम्बल चोर्न सक्ने आफूमाथि कसैले आक्रमण गर्न सक्ने भन्दै उद्धारका लागि पनि माग गर्नुभएको थियो । तर जिल्ला प्रशासन, प्रहरी लगायतका सरोकारवाला निकाय उहाँकै राहत उद्धारमा जुटिरहेकै बेला कुलालको रहस्यमय मृत्यु भएको स्थानीय रविन कुलालले बताउनुभयो ।
उहाँका अनुसार चेते कुलालको मृत्यु आश्र्चाय जनक छ । सुरक्षित बस्ने घर भएको भए यस्तो घटना हुन्थेन की भन्ने लागेको उहाँको भनाई छ ।
“उहाँ मदिरा सेवा पनि गर्ने गर्नुहुन्थ्यो । टाउकोमा चोट पटक लागेको भन्ने छ । मागी खाने मान्छे यस्तो कसले गर्यो होला । घटनाको सत्य तथ्यका विषयमा प्रहरीकै भर परेका छौँ ।”उहाँले भन्नुभयो । घटनाको दोषीमाथि कारबाही हुनुको विकल्प नरहेको उहाँको भनाई छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार ओडारमै बस्दै आएका मृतक चेते कुलालको टाउकोमा चोट पटक लागेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । “अहिले कुलालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टम हुदैछ । पोस्टमार्टमबाट पनि केही घटनाको विषयमा रिपोर्ट आउने छ ।” उहाँले भन्नुभयो ।
अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार आइएनएफ र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयोगमा शुक्रवार ६० किलो चामल, एक सिरक, एक डसना र दुई कम्बल राहत उपलब्ध गरेका थियौँ । तर पुस १२ गते राहतको अवस्था कस्तो भन्ने अनुगमन गर्दा पहिलेकै अवस्थामा रित्तो ओडार भेटिएको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्